Fursad Times बिहिबार, चैत्र ०५, २०७७

चैत ५ गते बिहीवार , भक्तपुर । बुधबार नेकपा एमाले भित्र दुई खाले घटना देखिए । काठमाडौँमा माधव नेपाल पक्षले भेलाको आयोजना गर्यो, जुन भेलालाई केपी ओली पक्षले अनधिकृत भन्दै कारबाहीको चेतावनी दिएको छ भने उता कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन एमालेले फिर्ता लिएको छ । सो निर्णयका बारेमा भने नेपाल पक्षका सांसदहरुको साथ छैन ।

यतिबेला एमालेभित्र स्पष्ट रुपमा नै दुई गुट देखिन थालेका छन । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षले गुटको भेलामा सहभागी भएको भनेर नेपाल पक्षलाई अनुशासनको कारबाही गरेर पद नै धरापमा पार्ने चेतावनी दिन थालेका छन् । नेपाल पक्षधरले पार्टीभित्रै आफूहरुले संघर्ष गरिरहेकाले कारबाहीको कुरा हुन नसक्ने तर्क गरिरहेको छ ।

यसरी पद नै जाने गरी कारबाही गर्नुपर्ने अवस्थामा दुवै घटनाक्रमलाई अलग–अलग ढंगले हेर्नुपर्ने निर्वाचन आयोगका एक आयुक्तले बताए । दलबाट उम्मेदवार भइ निर्वाचित भएका सांसदले सम्बन्धित दल त्याग गरेमा वा संसद्मा दलको ह्वीप उल्लंघन गरेको अवस्थामा मात्रै दलले निजको पद खारेजीको प्रक्रिया अघि बढाउन सक्ने उनको भनाइ छ । एमालेको हकमा दुवै अवस्था अहिले बनिनसकेको उनले बताए ।

यो समाचा आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।