Fursad Times मंगलबार, चैत्र ०३, २०७७

प्रधानमन्त्रीजी, धम्कीको भाषा नबोल्नुहोस्, हामी एक पछि अर्को कारबाही खान लामबद्द छौं- भट्टराई

भक्तपुर । प्रधानमन्त्री केपि शर्मा ओलिको कार्यकाल अझै दुई वर्ष बाँकी रहेकाले ढुक्क भएर पदावधि सकाउने हो भने फूटपरस्त गतिविधि बन्द गर्न आग्रह गर्दै कारबाहीको धम्की दिएर बारुदको गन्ध नफैलाउन योगेश भट्टराईले आग्रह गरेका छन ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई बारूदको गन्ध नफैलाउन समेत खुल्ला रुपमै चेतावनी दिएका छन्।
बुधबार र बिहिबार हुने कार्यकर्ता भेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीले पार्टी फूटतर्फ लगेको भन्दै धम्की र बारूदको गन्ध नफैलाउन चेतावनी दिएका हुन्।
‘हामी एकपछि अर्को कारबाहीका लागि तयार छौं’, भट्टराईले ओलीलाई भने, ‘तपाईंले गर्ने प्रत्येक कारबाहीका लागि लामबद्ध छौं।’

प्रधानमन्त्री ओलीले नेता तथा कार्यकर्ताहरुलाई नेपाल पक्षको आयोजना भेलामा नजान भनका थिए सोही सन्दर्भमा भट्टराईले अब मुलुक, पार्टी र राजनीति कारबाहीबाट नचल्ने बताए। हामी कारबाहीका लागि लामवद्ध भएर उभिन तयार छौं,’ उनले भने, ‘किनभने हामी मुलुकको लागि, संविधानको लागि र हामीले पाएको जनसमर्थको पक्षमा उभिएको मान्छे हो।’

मंगलबार बालुवाटारमा भएको चियापान कार्यक्रममा बोल्दै ओलीले पार्टीको विधान विपरीत भेला, बैठक गरे कारबाही गर्ने नेपाल पक्षलाई धम्किपूर्ण अभिव्यक्त दिएका थिए।

सोही अभिव्यक्तिलाई लिएर भट्टराईले बुद्धको देशमा शान्तिको भाषा प्रयोग गर्न ओलीलाई आग्रह गरे। ‘यो बुद्धको देश हो। बुद्धको देशमा शान्तिको भाषा हुन्छ। प्रधानमन्त्रीजी बुद्धको अनुयायी पनि हुनुहुन्छ,’ उनले भने, ‘आज तपाईंले बालुवाटारमा बोल्नुभएको भाषा शक्तिको भाषा छ। म विनम्रताका साथ भन्न चाहन्छु कि त्यो भाषा बदल्नुहोस् र शान्तिको भाषा बोल्नुहोस्।’
फागनु २८ गते अध्यक्ष ओलीले गरिएको भनिएको केन्द्रीय कमिटी बैठक गूटीय भेला मात्र भएकाले त्यसको राजनीतिक र कानूनी हैसियत नहुने पनि जिकीर गरियो ।