भक्तपुर । पछिल्लो समय चीन र नेपालबीच विकसित हुँदै गएको द्विपक्षीय सम्बन्धले यसअघि नेपाल र भारतबीच रहँदै आएको सम्बन्धलाई कुनै असर नपार्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रधानमन्त्रीले ओलिले भारत र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धबारे कुनै शंका वा द्विविधा हुन नहुने बताउँदै प्रधानमन्त्रीले भारत र चीन दुवैसँग नेपालको मैत्रीपुर्ण सम्बन्ध रहेको र रहने बताए । भारतीय टेलिभिजन सिएनएन न्यू १८ लाई दिएको एक अन्तरवार्तामा प्रधानमन्त्रीले नेपालमा चीन र भारत दुवैको लगानी रहेको बताउँदै नेपालले अन्य देशहरुबाट समेत लगानी स्वीकार गर्ने प्रस्ट पारे ।
केही समय अगाडि नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा प्रकाशित गरेपछि नेपाल र भारतबीचको सम्बन्धमा दरार उत्पन्न भएको भन्ने समाचारहरु आए पनि प्रधानमन्त्रीले यस विषयमा दुई देशबीच छलफल सुरु भइसकेकोले सत्य र वार्ताका आधारमा यसको समाधान निकालिने विश्वास व्यक्त गरे ।उक्त अन्तर्वार्तामा प्रधानमन्त्रीले चीनले नेपालमा गरिरहेको लगानीले नेपाल पछि ऋणको पासोमा पर्ने खतरा नभएको बताए । पछिल्लो ३–४ वर्षयता सार्कको शिखर सम्मेलन गर्न नसकिएकोमा अब सार्कको शिखर सम्मेलन आयोजना गरी जिम्मेवारी हस्तान्तरण गर्न नेपाल तत्पर रहेको प्रधानमन्त्रीले बताए । हाल नेपाल सार्कको अध्यक्ष राष्ट्र छ भने अब नेपालले पाकिस्तानलाई सार्कको अध्यक्षता हस्तान्तरण गर्नुपर्नेछ ।