नविन पन्त बुधबार, आश्विन १६, २०८१

युट्युबको नेपाल ट्रेन्डिङमा फिल्मका गीत, टिजर र ट्रेलरहरु अहिले बलियो पक्कड बनाएका छन्। विराज भट्टको फिल्म ु१२ गाउँको ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष ७ मा छ। यो फिल्मको ट्रेलर मंगलबार दिउँसो सार्वजनिक भएको थियो। ट्रेलर युट्युबको मुभिज खण्डतर्फ भने शीर्ष स्थानमा छ। बुधबार दिउँसोसम्म ट्रेलरलाई युट्युबमा ७ लाखभन्दा बढीपटक हेरिएको छ। त्यस्तै दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म छक्का पञ्जा ५ को ब्रेकअप गीत रिलिज हुनासाथ निकै चर्चा पाए पनि यो गीत एक सातापछि ट्रेन्डिङमा उक्लिएको छ । गीतको भिडिओलाई बुधबार दिउँसोसम्म ७५ लाखभन्दा बढीपटक हेरिएको छ। छक्का पञ्जा ५ र १२ गाउँ दुवै सिनेमा असोज २४ गते रिलिज हुँदैछन्। युट्युब ट्रेन्डिङमा मुभिज खण्डको कुरा गर्दा दोस्रो स्थानमा प्रदर्शनरत फिल्म खुस्मा को ट्रेलर छ। धिरज मगर र उपासना सिंह ठकुरी अभिनीत यो फिल्मको ट्रेलर तीन साताअघि सार्वजनिक गरिएको थियो।

मुभिज खण्डको तेस्रो स्थानमा तिहारमा प्रदर्शनमा आउने फिल्म एक्टरको टिजर छ। यो फिल्ममा प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी लगायत कलाकारहरूको अभिनय छ।