नबिन पन्त सोमबार, साउन २१, २०८१

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘माइली’ को सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा मुहुर्त गरिएको छ । बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्मको मुहुर्तमा मुख्य कलाकार  तथा प्राविधिकहरु उपस्थित थिए । यस फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे,कुसुम शर्मा, प्रिया रिजाल, सुष्मा लामा, अंशु महर्जन, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा, आश्मा पाण्डे र रेश्मा केसीको अभिनय रहनेछ । नायिका प्रियंका कार्की र नव कलाकार कमला घिमिरेले मुहुर्त सर्ट दिएका थिए । यस फिल्ममा प्रियंका र कमला आमाछोरीको भूमिकामा छन् । मंगलबारबाट छायांकन सुरु हुने यो फिल्मलाई मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ । फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत, पटकथा र  सम्बाद, राजेन्द्र बजगाइको संगीत, शिव ढकालको छायांकन, केवलमान सिंह बस्नेतको प्रोडक्सन, समीर मियाँको सम्पादन र रामजी राउतको मुख्य सहायक निर्देशन रहनेछ ।