नविन पन्त बुधबार, साउन ०९, २०८१

भक्तपुर- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको क्रममा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा एकै परिवारका ३ जनाको निधन भएको छ । सौर्य एयरलाइन्समा कार्यरत आइटी इन्जिनियर मनुराज शर्मासँगै उनकी पत्नी र उनका नाबालक छोराको निधन भएको हो । मनुराज दुर्घटनाग्रस्त विमानको एयरलाइन्स कम्पनीमै कार्यरत थिए र ‘सी–चेक’ टिमकै सदस्य थिए । विमानमा सवार अन्य यात्रुहरु एयरलाइन्ससँगै सम्बन्धित भए पनि इन्जिनियर शर्माका श्रीमती र छोरा भने कम्पनीका कर्मचारी भन्दा बाहिरका थिए । आजको उडानबाट पोखरा गएपछि इन्जिनियर शर्मा पोखरामै केही समय बस्ने तयारीमा थिए । त्यसैले उनले आफ्नी श्रीमती प्रिजा खतिवडा छोरा अधिराजलाई साथमा लिएर पोखरा जान लागेकी थिइन् । खतिवडा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरको रुपमा कार्यरत थिइन् । पोखरामा परिवारको साथ समय बिताउन नपाउँदै उनिहरु तीनै जना यो संसर बाट बिदा भए ।