नविन पन्त बिहिबार, आषाढ १४, २०८१

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस माध्यामिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । उत्तीर्ण भएका विद्यार्थीमध्ये १८६ जनाले ४ जीपीए ल्याएका छन् । नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीहरु मध्ये ४७.८६ प्रतिशत अर्थात जम्मा २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् भने ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड ९एनजी० ल्याएका छन् । परिक्षा बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ । दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।