नविन पन्त शनिबार, जेठ १२, २०८१

भक्तपुर । बिहीबार बुद्धजयन्तीको अवसर पारेर प्रदर्शनमा आएका दुई नयाँ चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की’ लाई दर्शकको राम्रो साथ मिलेको छ । प्रदर्शनको पहिलो दिन दुवै चलचित्र नेपालभर उच्च ‘अकुपेन्सी’ सहित प्रदर्शन भए।

अनमोल केसी स्टारर ‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले यस चलचित्रको पहिलो दिन अधिकांश ‘सो’ ‘हाउसफूल’ रहेको जानकारी दिएका छन । पहिलो दिनको व्यापार निकै उत्साहजनक छ। अब चलचित्र हेर्न दर्शकले नै सिफारिस गर्नुहुनेछ भन्नेमा विश्वस्त छु।” उनले भने । बिहानदेखि नै दर्शकको चाप चलचित्र भवनमा देखिएको जानकारी दिएका छन । सूयोग गुरुङले निर्देशक गरेको चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ललगायत कलाकारले अभिनय गरेका छन्।

त्यस्तै अर्को चलचित्र ‘पुजार सार्की’ लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका छन्। जातीय र वर्गीय विभेद्को कथालाई मिश्रित समाजको पृष्ठभूमिमार्फत देखाएको चलचित्रले ‘जात होइन, मानवता’ भन्ने सन्देश दिने निर्देशक राउतले बताए। “यसपटक मिश्रित समाजको एकताले विकास ल्याउँछ भने विभेद्ले विनाश भन्ने देखाउन खोजेको छु। मैले अघिल्ला चलचित्रमा प्रस्तुत गरेको कथाको निचोड पनि यसलाई भन्न सकिन्छ”, निर्देशक राउतले भने।

विकास सुवेदीले लेखेको चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बू, पल शाहलगायत कलाकारले अभिनय गरेका छन्। निर्माण पक्षको दाबीअनुसार दुवै चलचित्रले पहिलो दिन एक करोड बढीको व्यापार ( ग्रस कलेक्सन) गरेका छन्।