नविन पन्त शनिबार, चैत्र २४, २०८०

भक्तपुर स् संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको गाजा क्षेत्रमा युद्धविरामको माग गर्ने प्रस्तावमा शुक्रबार भएको मतदानमा भारतसहित १३ देशले भाग लिएनन् भने युद्धविराम हुनुपर्छ भन्दै २८ देशले पक्षमा मतदान गर्दा अमेरिका र जर्मनीसहित ६ देशले विपक्षमा मतदान गरे।

परिषद्ले पाँचवटा प्रस्ताव पारित गरेको छ। यसमा गाजा पट्टीको घेराबन्दी हटाउन माग गर्ने प्रस्ताव पनि समावेश छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, ‘छ महिनादेखि इजरायली सेनाले गाजामा निरन्तर मृत्यु र विनाश गरिरहेको छ। खाना र पानी नहुँदा बालबालिका मरिरहेका छन्। प्यालेस्टिनी जनताको सामूहिक दण्डलाई कुनै पनि हिसाबले न्यायोचित मान्न सकिँदैन।’ गाजाका सम्पूर्ण जनसंख्या भोकमरीको विन्दुमा पुग्ने अवस्था आएको भन्दै एन्टोनियो गुटेरेसले गाजामा युद्धविरामको लागि निरन्तर अपील गरिरहेका छन। संयुक्त राष्ट्रसंघका अनुसार इजरायली सैन्य अभियानमा हालसम्म एक लाखभन्दा बढी प्यालेस्टाइनी मारिएका वा घाइते भएका छन् ति मारिका र घाइते भएका मध्ये एक तिहाइ बालबालिका छन्।