नविन पन्त सोमबार, चैत्र १२, २०८०

भक्तपुर यस वर्षको मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदैछ। मिथिलाको महाकुम्भ भनिने १५ रात १६ दिनको यो यात्रा आज जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै समापन हुन लागेको हो। नाङ्गा खुट्टाले हिँडेर मधेसको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्र पारेर एक सय ३३ किलोमिटरको वृत्तमा गरिने यो यात्राको अन्तिम कडी अन्तर्गृह परिक्रमा हो।

अन्तिम दिन अर्थात् १५औँ दिनको रात जनकपुरधामको रङ्गभूमि मैदानमा नै बसेर रात कटाएर १६औँ दिन बिहान अन्तर्गृह अर्थात् पञ्चकोशी परिक्रमा गरिने परम्परा छ। मध्यमा यात्रामा यात्रीले नेपाल भारतका विभिन्न तीर्थस्थलमा १५ रात्रि बास गरेका छन्। नेपालतर्फ धनुषामा ६, महोत्तरीमा पाँच र भारतको मधुवनी जिल्लामा चार रातको बास बस्ने परम्परा छ। फागुन औँसीका दिन देखि सुरु भएको मध्यमा यात्रा आज टुङ्गिँदै छ।

जनकपुरधामस्थित राम जानकी मन्दिर, धार्मिक महत्वका तलाउ, विभिन्न मठमन्दिर र रङ्गभूमिलाई माझमा पारेर जनकपुरधामको पाँच कोश दूरीको वृत्तमा गरिने परिक्रमालाई अन्तर्गृह अर्थात् पञ्चकोशी परिक्रमा भनिन्छ। यदि कुनै श्रद्धालुहरुले घरव्यवहारको कामले समय निकाल्न नसकेर मध्यमा परिक्रमामा सहभागी हुन सकेकाछैनन भने पनि उनीहरुले अन्तर्र्गृहमा सहभागी हुन्छनपाउँने व्यवस्था रहेको छ । यात्रामा एक लाखभन्दा बढीको सहभागिता रहेको जनकपुर क्षेत्र विकास परिषद्ले जनाएको छ।

अन्तर्गृह परिक्रमाले आत्मशुद्धि हुने, परमार्थ सुध्रने र पारिवारिक कल्याण भई अन्त्यमा मोक्ष प्राप्त हुने हिन्दू मैथिल जनविश्वास छ। मध्यमा र आजको अन्तर्गृह परिक्रमाका सहभागीले आज बिहानको यात्राकै क्रममा गए राति होलीका दहन गरिएको खरानी उडाउँदै फागु खेल्छन्।

मिथिलामा परिक्रमाको १५औँ दिनको रात ठाउँ ठाउँमा राक्षसी होलिकाको आकृति बनाइ त्यसलाई दहन गर्ने र भोलिपल्ट सोहि डढेको आकृतिको खरानी उडाउने चलन समेत छ। यसमा आकृति दहन गर्नुलाई ‘होलिका दहन’ र खरानीको धुलो उडाउनुलाई ‘धुरा उडाउनु’ भनिन्छ। मिथिलामा धुरा उडाएपछि फागु खेल्ने परम्परा छ।