नबिन पन्त शुक्रबार, आश्विन २६, २०८०

नेपाली क्रिकेट पुर्व कप्तान सन्दीप लामिछानेले आसन्न त्रिकोणात्मक टी २० क्रिकेट सिरिजबाट नाम फिर्ता लिएका छन् । घरेलु मैदानमा हुने प्रतियोगिता आउन केही समय मात्र बाँकी रहेका बेला अचानक सन्दीपले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै प्रतियोगिता खेल्न नसक्ने भन्दै नाम फिर्ता लिएका हुन् । उनले आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक सिरिज प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको बताए । उनले तत्कालका लागि आफू कुनै पनि प्रतियोगिता खेल्न नसक्ने अवस्थामा रहेको बताएका छन् । उनले भने, ‘भारी मन पार्दै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको र अहिले जुन अवस्थाबाट आफू गुज्रिरहेको छु, त्यो जीवनको निकै कठिन र चुनौतीपूर्ण समय रहेको छ, ‘मैले आफूलाई फेरी पुरानै अवस्थामा ल्याउन निकै आवश्यक रहेको र यो बेला परिवारलाई पनि समय दिनुपर्ने महसुस गरेको छु । अर्को भेट नभएसम्म सबैको आशीर्वाद र शुभकामनाका लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’
सर्वोच्चमा विचाराधीन रहेको सन्दीपको मुद्दाको अन्तिम सुनुवाइ बारम्बार सर्दै आएको छ ।