नबिन पन्त आइतबार, आश्विन १४, २०८०

काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा डाक्टरमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। आइतबार दिउँसो केएमसी अस्पतालमा कार्यरत डा. मनिष खड्‍कामाथि कुटपिट भएको हो। उनीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम र सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम छन् । उनीहरू ओपिडीमा आएका थिए डा. मनिष खड्काले उनिहरुलाई लाइनमा बस्न भनेपछि उनिहरुले हात हालेका थिए। हरेक दिन डाक्टर कुटिएको भन्दै चिकित्सकहरू अहिले आन्दोलित छन्। उनीहरूले अस्पताल अगाडि प्रदर्शन गरिरहेका छन्।
यसअघि हेटौंडाको सञ्चो अस्पताल, पोखराको मणिपाल अस्पताल, लमजुङ जिल्ला अस्पताल, चितवनको माडी अस्पतालमा डाक्टर कुटिएका थिए। त्यसको विरोधमा डाक्टरहरू आन्दोलित भएका थिए। डाक्टरहरूमाथि कुटपिटपछि सरकारले नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकसँग कार्यस्थलको सुरक्षाका लागि सहमति गरेका थिए।