नविन पन्त शुक्रबार, भाद्र २९, २०८०

भक्तपुर। नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई सहज बनाउनको लागि चार स्थानबाट दर्शन गराइने व्यवस्था भएको छ । पशुपति विकाश कोषले यस वर्षको तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनहरुका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्न लागेका हो । तीजको तयारीका लागि शुक्रबार कोषले आयोजना गरेको छलफलमा कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिकोमध्ये क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ ।

दोस्रो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ । तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघर अघिको भाग राखिनेछ । चौँथो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको छ । पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल सिज गरी नगद जरिवानासमेत गरिने भएको छ ।

पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्बिर एवं भिडियो खिच्न मनाही गरिँदै आएको छ त्यसैले यो बर्ष पनि मन्दिर परिशर भित्र फोटो खिच्न तथा भिडियो बनाउन पाइने छैन । । मोबाइल चलाए जसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि यदि तयसरी तस्बिर खिच्ने वा भिडियो बनाएको खण्डमा नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

कोषले तीजका दिन यही असोज १ गते बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ ।