नविन पन्त सोमबार, भाद्र २५, २०८०

भक्तपुर – पछिल्लो समय विश्वभरी नै मानसिक रोग र आत्महत्याको समस्या चुनौतीपूर्ण बन्दै गएको छ । यो समस्या नेपालमा मात्र नभइ पुरा विश्वमा नै चुनौतीपूर्ण बन्दै गै रहेको करा पछिल्लो तथ्यांकले देखाउँछ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनले पनि विश्वमा प्रत्येक वर्ष ७ लाख बढी मानिसले आत्महत्या गर्ने गरेको जनाएको छ । नेपालमा पनि पछिल्लो दुई वर्षमा ६ हजार भन्दा बढिले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । आत्महत्या न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय संस्था र सरकारले समेत विभिन्न अभियानहरु चलाइरहेको भएता पनि यसको नियन्त्रणमा भने त्यती धेरै सुधार देखिँदैन । आत्महत्या रोकथामका लागि परिवारबाटै प्रभावकारी काम हुन सक्ने विज्ञहरुको बुझाइ छ भने सरकारी अधिकारीले भने मानसिक स्वास्थ्यका विषयमा बजेट निकै कम हुँदा सोचे अनुसार काम गर्न नसकिएको बताएका छन् ।

आत्महत्या गर्ने धरै बाटोहरु भएता पनि नेपालमा विषेश गरि झुन्डिएर आत्महत्या गरेको तथ्याङ्क धेरै छ । प्रहरीका अनुसार, पछिल्ला दुई बर्षमा नेपालमा भएका आत्महत्याका घटनामा ५ हजार ६ सय ८४ जनाले त झुण्डिएर नै आत्महत्या गरेका छन् । त्यसपछि विष सेवन गरेर १ हजार ४०, आत्मदाह गरेर १४, नदि तथा पोखरीमा हामफलेर ४२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । प्रहरीका अनुसार आत्महत्या गर्नेहरुको संख्यामा महिला भन्दा पुरुषको संख्या धेरै छ । २ हजार २ सय ६१ जना महिला र ३ हजार ८ सय ६० जना पुरुषले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा बालबालिका धेरै रहेका छन् । प्रहरीका अनुुसार पछिल्लो दुई बर्षभित्र ४ सय ५६ जना बालिका र २ सय ५३ जना बालकले आत्महत्या गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १५ देखि ३० वर्ष उमेर समूहका नागरिकले बढि आत्महत्या गर्ने गरेको पाइन्छ ।

आत्महत्याको मुख्य कारण मध्ये मानसिक स्वास्थ्यको चरम अवस्थाअर्थात डिप्रेसनलाई लिने गरिएको भएता पनि अन्य धेरै कारणले पनि आत्महत्या हुने गरेको पाइएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल, २०७७ को प्रतिवेदन अनुसार नेपालमा १३ देखि १७ वर्षका ५.२ प्रतिशत किशोर किशोरीहरूमा मानसिक समस्या देखिएको छ । जसमा २.८ प्रतिशतको अवस्था चिन्ताजन्य, ०.६ प्रतिशतमा डिप्रेसनको समस्या पाईएको छ भने ३९ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच विकास भएको पाइएको छ । कुनैपनि व्यक्तिले आत्महत्या गर्नुको पाछाडि हुने मुख्य समस्या मध्ये पारिवारिक विचलन र आर्थिक पाटो देखिएको बताउँछन्, मनोपरामर्श दाता पदम घिमिरे । उनका अनुसार आत्महत्या रोक्न निर्वाह गर्नुपर्ने भूमिका परिवारबाट हुन सकेका छैनन् ।

प्रहरीका अनुसार दुई बर्षभित्र सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १ हजार ३ सय ५ जनाले आत्महत्या गरेका छन् । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा ६ दशमलव ५ प्रतिशत व्यक्तिहरुमा आत्महत्याको सोच र योजना हुने गरेको पाइएको छ । दीर्घकालीन रोगबाट ग्रसित व्यक्तिहरु, गम्भीर भावनात्मक कठिनाइ भएका व्यक्तिहरु, युद्ध, हिंसा, आघातजन्य घटना, सामाजिक बहिष्कार अनुभव गरेका व्यक्तिहरु आत्महत्याको जोखिममा रहने विश्व स्वास्थ्य संगठन डब्लुएचओले प्रतिवेदनले औंल्याएको छ । मानिसमा विकास हुने आत्महत्याको सोचाइलाई कम गर्न सरकारी पहलबाट पनि विभिन्न पहल भने नभएका होइन् तर कतिपय अवस्थामा पर्याप्त बजेट नभएको मानसिक स्वास्थ्य शाखाका प्रमुख डा बराल बताउँछन् ।

नेपालमा आत्महत्याको इतिहास नियाल्ने हो भने मल्लकालमा राजा विश्वजीत मल्लले छुरी प्रहार गरि वि सं १७६० मा आत्महत्या गरेको प्रसंग उल्लेख गरेको पाइन्छ । तर यसको औपचारिक तथ्य भने भेटिएको छैन । पछिल्ला दशकहरुमा भने पारिवारिक विचलन, प्रेम–सम्बवन्ध, आर्थिक दुरावस्था जस्ता कारणले आत्महत्याका घटना भइरहेका छन् । त्यसको रोकथामका थुप्रै उपाय भएको विज्ञहरुको भनाइ छ । नेपालको हकमा मानसिक समस्या भएका व्यक्तिले उपचारको पहुँच नपाउने समस्या देखिएको त्रिभुुवन विश्व विद्यालय शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख प्रा। डा। सरोजप्रसाद ओझाको बुझाइ छ ।

प्रहरीको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा २ सय ९१, काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ५ सय ३९, सुदूरपश्चिम प्रदेशमा ६३ बालबालिका सहित ५ सय ८३, गण्डकी प्रदेशमा ६ सय ९८, उपत्यकाका तीन जिल्ला बाहेक बागमती प्रदेशमा ९ सय ३, मधे प्रदेशमा १ हजार २० जनाले आत्महत्या गरेका छन् । जसमा बालबालिका मात्र २ सय ३६ जना छन् । लुम्बिनी प्रदेशमा १ हजार ३ सय ५ र कोशी प्रदेशमा १ हजार ४ सय ९१ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका घटनाले सामाजिक रुपमा पु¥याएको मानवीय क्षतिलाई रोक्न सचेतना लगायत कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउनुपर्ने देखिन्छ । दिवसको अवसरमा गरिने एकाध कार्यक्रममा सीमित नभई चेतना बृृद्धिको दायरा फराकिलो बनाउनुपर्ने विज्ञहरुको सुझाव छ ।