नबिन पन्त बिहिबार, साउन ०४, २०८०

भक्तपुर – मंगलबार ठूलो परिमाणको बरामद भएको सुनसहितको ब्रेक शुको तौल १५५ केजी रहेको पाइएको छ।  टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले सुनसहितको ब्रेक शुको तौल १५५ किलो रहेता पनि अझै परीक्षण गर्न बाँकी नै रहेको बताएका छन अरू धातुको मात्रा कति छ थाहा छैन’, उनले भने, ‘सिलबन्दी गरेर ल्याइएको छ।’ त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको सुन बरामद भएको थियो। क्याथे प्यासिफिक एयरको जहाजमा मोटरसाइकल/ स्कुटरको ब्रेक शु भित्र सुन राखेर भित्र्याएको पाइएको थियो।
उक्त सुन जोख्नका लागि बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार कार्यालय पुर्‍याइएको थियो।
आठ वटा पोकामा उक्त सुन राखिएको छ।

यस कार्यमा संलग्न रहेको आरोपमा दोलखा घर हुने रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परेका छन्।
एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पनि पक्राउ परेका हुन्।
बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ। उक्त ट्याक्सीबाट नै सुन लग्ने तयारी भएको थियो।
यस घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास कसरी भएर निस्कियो भन्नेबारे छानबिन गर्न भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन भएको छ।
समितिले भन्सार अधिकृत लगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो।