Fursad Times शनिबार, फाल्गुण ०६, २०७९

भक्तपुर – घरेलु मैदानमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले लगातार आफ्नो तेस्रो जित दर्ता गरेको छ । तेस्रो जित निकाल्ने क्रममा शनिबार नेपालले नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४७.३ ओभरमा चार विकेट गुमाएर भेट्टायो । नेपाललाई ऐतिहासिक जित दिलाउने क्रममा आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय पारी खेले । ९८ बलको सामना गरेका आसिफले ८ चौका र २ छक्कासहित ८१ रन बनाए । एकदिवसीयमा उनको यो छैटौँ अर्धशतक हो । त्यस्तै, ज्ञानेन्द्रले ७४ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६५ रन बनाए । एकदिवसीयमा उनको यो सातौँ अर्धशतक हो । त्यस्तै, कप्तान रोहितकुमार पौडेलले ३९, सन्दीप जोराले तीन, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल एक/एक रन जोडे । सोमपाल कामी ८ रनमा अविजित रहे । नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले तीन, बर्नार्ड स्कोल्ट्जले दुई, पिक्की या फ्रान्स र टांगेनी लुंगामेनीले एक/एक विकेट लिए ।

  त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन बनायो । उसका लागि जेन ग्रीन र पिक्की या फ्रान्सले उत्कृष्ट पारी खेले । ६३ बलको सामना गरेका ग्रीनले ११ चौका र एक छक्काको सहयोगमा अविजित ७५ रन बनाए । फ्रान्सले ३९ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४९ रनको पारी खेले । रुबेन ट्रम्पलम्यानले ७ बलमा दुई छक्का र तीन चौकासहित २४ रनको योगदान दिए । लो–हान्द्रे लरेन्सले ४१, माइकल भ्यान लिङ्गेनले २२, कार्ल बर्केनस्टक ले २०, कप्तान गेर्हार्ड इरास्मस र जन निकोल लोफ्टी–इटनले १५/१५ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले तीन र करण केसीले एक विकेट लिए । नेपाललाई दुई विकेट भने रनआउटको रूपमा प्राप्त भयो । सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ३ तथा पहिलो म्याचमा नामिबियालाई २ विकेटले हराएको थियो । नेपालले अब सिरिजको अन्तिम खेलमा मंगलबार स्कटल्याण्डविरुद्ध खेल्नेछ ।