Fursad Times बिहिबार, मंसिर १५, २०७९

भक्तपुर – इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्दै आइरहेको पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । आइओसीले बिहीबार नेपाललाई नयाँ मूल्य पठाएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ घटाएर पठाएको छ । पटक पटक भारतबाट मूल्य घटेर आए पनि नेपाली बजारमा भाउ घटाउनेबारे कुनै छलफल नभएको निगम स्रोतले बताएको छ । बिहीबार आएको नयाँ मूल्यअनुसार निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी हुने भएकाले निगमलाई पन्ध्र दिनमा ५८ करोड रूपैयाँ नाफा हुनेछ। तर निगमले आइओसी र नेपाल सरकारको गरेर अझै १५ अर्ब रूपैयाँ ऋण तिर्न बाँकी भएकाले तत्काल नेपाली बजारमा भाउ कम हुने या नहुनेबारे यकिन छैन।