Fursad Times आइतबार, आश्विन ०२, २०७९

भक्तपुर । टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन उच्च अदालत पाटनले आज आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापासमेत तीन जनाले शुक्रबार उच्च अदालत पाटनमा रिट दिएका थिए। सोही रिटमाथि सुनुवाई गर्दै न्यायाधीश दिपेन्द्र बहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए। यो आदेश निरन्तर हुने वा नहुनेबारे अर्को आदेश गर्न असोज ५ गते अदालतले दुवै पक्षलाई बोलाएको छ।