Fursad Times मंगलबार, जेठ १७, २०७९

भक्तपुर – मेलम्ची खानेपानी आयोजनाले बर्खाभर पानी काठमाडौंमा नपठाउने भएको छ । बर्खा लागेसङ्गै मेलम्ची खोलामा पानी धमिलो हुन थालेको र बाढी आएर सुरूङमा क्षति पुर्‍याउन सक्ने भएकोले पानी पठाउने कार्य रोक्ने तयारी गरिएको छ। आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भने, ‘मेलम्ची खोलाको पानी धमिलो हुन थालेको छ । सुरूङमा क्षति नहोस् भनेर भर्खाभरी पानी ल्याउन रोक्न लागिएको हो।’ आयोजनाले सम्भवत: आजै खानेपानी मन्त्रालयसँग समन्वय गरी बर्खाभर पानी ल्याउन नसकिने सूचना जारी गर्नेछ। पन्तका अनुसार मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइँदै आइएको थियो। ‘मेलम्चीमा पानी बढ्दै जाँदा सुरूङ लगायतमा क्षति हुन सक्ने जोखिम रहन्छ। त्यसैले पानी ल्याउने कार्य बन्द गर्न लागिएको हो,’ उनले भने। बर्खापछि पुन: मेलम्चीको पानी काठमाडौं पठाइने उनले बताए । ०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी काठमाडौंका घर-घरमा वितरण गर्न थालिएको थियो । ०७८ असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनामा क्षति गरेपछि लामो समयदेखि पानी ल्याउन सकिएको थिएन।