Fursad Times शनिबार, बैशाख २४, २०७९

https://youtu.be/8trqBeYV38E

भक्तपुर। वैशाख ३० अर्थात् स्थानीय तहको निर्वाचन आउन अब केवल हप्ता दिन मात्र बाँकी रहँदा म्याग्दीमा उम्मेदवार र राजनीतिक दलहरूले मतदाताको घरदैलोमा नै पुगेर मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएका छन्।

अघिल्लो निर्वाचनमा जस्तो यो पटक आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि यसपटक उम्मेदवार र दलहरू आफै घरदैलोमै पुगेर आफू र आफ्नो दलका उम्मेदवारलाई मत माग्नुका साथै मतदातालाई कसरी मतदान गर्ने भन्ने विषयमा सिकाउन थालेका हुन्।

मतदान गर्दा कसरी मतदान गर्ने भन्ने तरिका सिकाउन उम्मेदवार, नेता र कार्यकर्ता घरघरमा पुगेका छन् । चुनाव प्रचारका लागि गाउँ गाउँमा पुगेका उम्मेदवारले चुनावी घरदैलो अभियानसँगै मतदाता शिक्षा पनि अभियान चलाएका छन्।

बेनी नगरपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार चिरञ्जीवी पौडेल र नेकपा (माओवादी केन्द्र)को तर्फबाट उपप्रमुखमा उम्मेदवार ज्योति लामिछानेले शुक्रबार बेनी नगरपालिका–४ थामडाँडा, सुर्केमेला र १ बगरफाँटका मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै मत मागे। यस नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको दुई दलीय गठबन्धन छ।

चुनावको चहलपहल सुरु भएपछि आयोगले नै घरघरमा मत कसरी दिने भनेर सिकाउन आउने गरेकामा यसपटक भने स्वंयम उम्मेदवार तथा नेताहरूले नै सिकाउन आएको बेनी नगरपालिकाका स्थानियले बताए । त्यस्तै मालिका गाउँपालिकामा कांग्रेसका तर्फबाट गाउँपालिकाको प्रमुखमा उम्मेदवार बनेका श्रीप्रसाद रोका र माओवादी केन्द्रको तर्फबाट पालिका प्रमुखमा उम्मेदवार बनेका रेशम जुग्जाली (सुविन) ले पनि पालिकाका वडा, टोलटोलमा पुगेर मतदाता शिक्षाबारे जानकारी दिइरहेका छन्।

सो क्षेत्रमा नेपाली कांग्रेस उम्मेदवारसहित केही कार्यकर्तालाई चुनाव प्रचार–प्रसारमा पठाएको छ भने अन्य पदाधिकारी र सदस्य मतदाता शिक्षाका लागि गाउँ–गाउँमा खटाएको छ ।

काग्रेंस मात्र हैन धवलागिरि गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका थमसरा पुनले पनि यतिबेला आफ्ना मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै छन्। मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएपछि कतिपय मतदाता मतदान गर्ने तरिकामै अल्मलिएका र मत बदर हुन नदिन घरघरमा पुगेर उनीहरूलाई सचेत गराइएको उनको भनाइ छ। बेनी नगरपालिका–२ मा कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार यामबहादुर कार्की पनि मत बदर हुन नदिन नागरिकलाई सचेत बनाउन नमूना मतपत्र लिएर मतदान गर्न सिकाइरहेका छन्।

मतपत्रमा धेरै चिह्नमा छाप लगाउनुपर्ने भएकाले मतदान प्रक्रियामा कोही अल्मलिनु नपरोस् भनी नमूना मतपत्र बोकेर घर–घरमा मतदान गर्न जानकारी दिने गरिएको उम्मेदवारहरूको भनाइ छ।