Fursad Times शुक्रबार, आषाढ २५, २०७८

भक्तपुर – बिहीबार राति आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेकी अभिनेत्री तथा निर्माता जेनी कुँवरको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । जेनीको पार्थिव शरीरलाई उनको भतिज जीवन कुँवरले दागबत्ती दिए । अन्त्येष्टी अगाडि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति क्षेत्रमै केही घन्टा राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, कोषाध्यक्ष सुनिल कटुवाल लगायत कार्यसमिति पदाधिकारी सबै, प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायत थुप्रै कलाकर्मी पुगेका थिए । उनको शवमा कलाकार संघको झण्डा समेत ओढाइएको थियो ।
बिहीबार राति थापागाउँस्थित सनराइज अपार्टमेन्टमा रहेको आफ्नै निवासमा ढोकामा किला ठोकेर डोरीको पासो लागेको अवस्थामा उनको शव प्रहरीले फेला पारेको थियो । शवसँगै उनले ‘डिप्रेशनको शिकार’ भएको नोट समेत राखेकी थिइन् । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको उल्लेख गर्दै मृत्युमा कसैलाई दोष नदिन र आफ्नै हिसाबले मृत्यु रोजेको भनेकी छन् ।
विगत केही वर्षयता भने धेरै समय पशुपति क्षेत्रमा बिताउन थालेकी उनी पछिल्लो समय अध्यात्ममा रमाउँदै आएकी थिइन् । उनका दुई छोरी र श्रीमान रहेका छन् । छोरीहरू भने अहिले अमेरिकामा रहेका छन् ।