लेख्नेलाई हातमा धानका बालाको माला !
पढ्नेलाई घाँटीमा खोलाको माला !
यो कथा शिकारीको गोलीभन्दा पहिले ढुकुरहरूको कानमा जाला !
पढिसक्दा कथामा देखाइएको दुःख हराइजाला !
आफूलाई बुझिदिने मान्छेलाई दुःख सुनाएपछि दुःख नै हराइजान्छ नि ! त्यस्तै ।
एकादेशको कुरा हो । हैन, यो एकादेशको कुरा हैन । त्यहाँ देश जस्तो केही थिएन । जो देशलाई बचाउन बाँचिरहेथे, तिनीहरूलाई देशले नै मारिरहेथ्यो । त्यस्तोमा यो देशको भन्दै के को गर्व गर्नु ? यो एकादेशको कुरा हैन । यो जम्माजम्मी कुरा हो । र, कुरा के हो भने त्यतिखेर त्यहाँ कमिलाको चुनाव आएको थियो । चलन के थियो भने चुनावको बेला चाहिँ सबै कमिलाहरू खोलामा बग्नुपर्थ्यो । जो खोलाबाट बाहिर निक्लिन्थ्यो, त्यसले चुनाव जित्थ्यो । र, जो डुब्थ्यो, त्यो डुब्थ्यो ।
तर, खोलाबाट कमिलाहरू आफैँ पौडेर बाहिर निस्कन सक्दैनथे । कस्तो अचम्मको चलन थियो ! जसलाई पौडी नै आउँदैनथ्यो, उनीहरूको परीक्षाचाहिँ डुबाउने पानीमा हुन्थ्यो ।
उसो भए डुब्न लागेका कमिलाहरूलाई खोलाबाहिर कसले निकाल्थ्यो ?
ढुकुरहरूले ।
जसलाई धेरैभन्दा धेरै ढुकुरहरूले मिलेर बचाउँथे उसले चुनाव जित्थ्यो । जसलाई धेरै ढुकुरहरूले वारि ल्याए ऊ पारि तर्याे ।
बचाउने ढुकुरहरूचाहिँ खोलाको नजिकै बस्थे । आ-आफ्नो दुःख गाउँदै खुसी हुन्थे । ढुकुरकुर, ढुकुरकुर !
कमिलाहरूरका लागि चुनाव जित्नु भनेको मृत्युलाई जित्नुजत्तिकै हुन्थ्यो । र, मृत्युलाई जित्नका लागि कमिलाहरूले ढुकुरहरूको मन जित्नुपर्थ्यो ।
ढुकुरहरूको मन जित्नका लागि खोलामा डुबिरहँदा कमिलाले त्यस्तो कुरा गर्नुपर्थ्यो, जुन सुनेर ढुकुरहरूलाई लागोस् कि कमिलालाई बचाउनु भनेको आफैँलाई बचाउनु हो ।
कमिलाहरू चुवाव जित्न जे बोल्न पनि तयार हुन्थे । जे गर्न पनि तयार हुन्थे । जो हुन पनि तयार हुन्थे ।
ढुकुरहरूको हृदय पनि कमलो थियो, अनि स्मरणशक्ति पनि ।
यसैगरी एक वर्ष फेरि चुनाव आयो । खोलामा सयौँ कमिलाहरू चिच्याएको आवाज आयो । सयौँ कमिलाहरू खोलामा एकैसाथ छटपटाइरहेथे ।
ढुकुरहरूले चुच्चोले धान काटेर लडाएका थिए । पानी पर्ला कि जस्तो भएर आकाश धुम्मिएको थियो । क्यै गरी पानी पर्याे भने सबै धान माटोमा मिस्सिन्थ्यो । खानै गाह्रो हुन्थ्यो । लगभग वर्षदिनभरि त्यै धानले धान्नुपर्थ्यो ।
तर, कमिलाहरू चिच्याएको आवाज आएपछि दयालु ढुकुरहरू भावुक भए । उनीहरूले खेतमा लडेका धानका बाला खेतमै छोडे । आफूले फलाएको धानको एउटा-एउटा बाला चुच्चोमा च्यापेर ढुकुरहरू खोलातिर गए ।
त्यहाँ पुग्दा कमिलाहरू आत्तिँदै हातखुट्टा पानीमा छप्ल्याङछुप्लुङ पार्दै थिए । रुँदै-चिच्याउँदै हारगुहार गरिरहेका थिए । र, मायालाग्दो आवाजमा भनिरहेथे, ‘आज मलाई डुब्नबाट बचाउनुस् । भाेलि म तपाईंहरूलाई बाँकी सबै थोकबाट बचाउँछु ।’
ढुकुरहरूले आफूलाई मन परेको बाचा गर्ने कमिलालाई हेरे । चुने । आफ्नो चुच्चोमा भएको धानको बाला लिएर खोलाभित्र गए । पहिलो ढुकुरले एउटा बालोलाई कमिलाको छेउमा राख्यो र चुच्चोले बालो अड्याइरह्यो । अर्को ढुकुरले त्यो बालोमा अर्को बालो जोड्यो र चुच्चोले चेपिरह्यो । एवम् रीतले ढुकुरहरूले कमिलालाई खोलाबाट बाहिर निस्कने बाटो बनाए । पहेँला बालाहरूको बाटो ।
केही कमिला त्यही बाटो भएर खोलाबाट बाहिर निस्किए । उनीहरू वारि आए । चुनावमा पारि तरे ।
बाला कम भएर कोही कमिलाचाहिँ खोलाको कम पानी भएको ठाउँसम्म मात्रै निस्किए । उनीहरू वारि नै रहे ।
खोलामा बाला तेर्स्याइरहँदा ढुकुरहरूको चुच्चो खुब गलेको थियो । तर, खोलाबाट बाहिर निस्किँदा कमिलाले ढुकुरहरूको चुच्चोतिर हेरेनन् ।
अनि एक्कासि एउटा आश्चर्य भयो: खोलामा डुब्नलाग्दा ती कमिलाहरू नचिल्ने काला कमिलाहरू थिए । किनारमा निकालिइसकेपछि उनीहरू चिल्ने राता कमिलाहरू भए ।
कमिला खोलाबाहिर निस्किसक्दा मुसलधारे पानी पर्याे । ढुकुरहरू आत्तिए । उनीहरूले खेतमा छोडेका धानका बाला भिज्ने डरले झन् लल्याकलुलुक भए । बालालाई अग्लो ठाउँमा पुर्याउने बल थाकेका चुच्चाहरूमा थिएनन् ।
ढुक्कुरहरू रुँदै-रुँदै आफ्नो खेततिर गए । त्यहाँ पुग्दा धानका बालाहरू पानीमा तैरिरहेका थिए । ती पहेँला बालाहरू पनि डुब्न लागेका जस्ता देखिन्थे । बालाहरू पनि कसैलाई आफूलाई डुब्नबाट बचाइदिऊन् भनेर गुहारिरहेजस्ता देखिन्थे । तर, बालासँग बोली थिएन । अनि चुच्चा गलेका ढुकुरसँग पानीमा छप्ल्याङछुप्लुङ गरिरहेका बालालाई बचाउने ताकत थिएन ।
ढुक्कुरहरूले कमिलाले भनेको सम्झिए ‘आज मलाई डुब्नबाट बचाउनुस् । भाेलि म तपाईंहरूलाई बाँकी सबैथोकबाट बचाउँछु ।’
ढुक्कुरहरू कमिलासँग मद्दत माग्न खोलातिर उडे । उनीहरू चिच्याउन थाले, ‘बचाओ, बचाओ ! !’
तर, खोलामा पुग्दा त केही लामखुट्टेहरूले ती राता कमिलाहरूको हातमुनि केही जोडिरहेका थिए । ठ्याक्कै के जोडिरहेका थिए ? त्यो कुरा ढुकुरले ठम्याउन सकेनन् ।
एकातिर ढुकुरहरू थिए । अर्कोतिर कमिलाहरू थिए । लामखुट्टेहरू बीचमा थिए । ढुकुर र कमिलाको ठीक बीचमा ।
एकछिनमै ढुकुरहरू कमिलाहरूको नजिकै पुगे । तब एक्कासि ती लामखुट्टेहरूले कमिलालाई केही इशारा गरे । अनि त अचम्म भयो । राता कमिलाहरू भुरुरुरु उडे । र, कता हराए कता ।
अनि ती लामखुट्टेहरू पनि अँध्यारोमा बिलाइगए । ढुकुरहरूले ती लामखुट्टेहरू को थिए, चिन्न सकेनन् । एक्कासि कहाँबाट आए थाहा पाएनन् ।
ढुकुरहरूलाई कमिलाहरू भागेजस्तो लागेन । बरु कमिलाहरूको खुब चिन्ता लाग्यो । कतै ती लामखुट्टेहरूले कमिलाहरूको जिउमा छिछिमिराका पँखेटा त जोडिदिएनन् ! कमिलाहरू उड्दाउड्दै बाटोमै उनीहरूका पखेटाहरू झरे भने !
उनीहरू कमिलाहरू उडेतिर उड्न खोजे । तर, आफ्नो अन्न बचाउने पिरले खेततिरै फर्किए ।
केही समयपछि नै ढुकुरहरूको संसारमा भोकमरी चल्यो । अलिकति बचेको धान बेचेर केही खाऊँ भन्दा धानको भाउ पनि घट्यो । ढुकुरहरू बिरामी पर्न थाले । ओखती किन्न जाँदा ओखतीको भाउ बढ्यो । विस्तारैविस्तारै ओखती पाउन पनि छोड्यो । कसले कहाँ लुकायो, थाहै भएन ।
‘आफ्नो ठाउँ भनेर के गर्नु ? यहाँ बसे मरिन्छ’ भनेर कति ढुकुरहरू आफ्नो ज्यान जोगाउन अर्को जंगल तर्फ लागे ।
नवराज पराजुली