Fursad Times मंगलबार, बैशाख २१, २०७८

भक्तपुर । सूर्यविनायकमा एउटै कोठामा अचेत भेटिएका तीन जना मध्ये एकको मृत्यु भएको र दुईको अवस्था गम्भीर छ । काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–३ गुडुवाल घर भई हाल सूर्यविनायक–१० मिलनचोक डेरा गरी बस्ने २२ वर्षीया सुनिता तामाङको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

एउटै कोठामा अचेतावस्थामा भेटिएकामध्ये मृतककी आमा ४० वर्षीया शान्तिमाया ब्लोन र बहिनी १८ वर्षीया अनिताको भने अहिले पनि मध्यपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा अनिता सुत्केरी भएको र कोठाका झ्याल, ढोका सबै लगाएर उनलाई सेकताप गर्न मकलमा बालिएको कोइलाका धुवाँका कारण राति अक्सिजन अभावमा अचेत भएको हुन सक्छन् । घटनाको थप अनुसन्धान भै रहेको छ ।