Fursad Times सोमबार, बैशाख १३, २०७८

भक्तपुर । कोरोनाको दोस्रो लहर तिब्र गतिमा फैलिए सङ्गै राजधानी उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखि एक सातासम्म निषेधाज्ञा लगाउने प्रस्ताव गरिएको छ । आज गृहमन्त्रालयमा बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको निर्णय गरेपनि यसको कार्यान्वयन मन्त्रिपरिषद् बैठकपछि हुने बताइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले वैशाख २२ गतेसम्म निषेधाज्ञा लगाउने प्रस्ताव भए पनि मन्त्रिपरिषदको बैठकमा के निर्णय आउछ भन्ने पर्खिएको बताए । मन्त्रिपरिषद बैठक साँझ ५ बजे बस्दैछ ।

निषेधाज्ञा लगाइएपछि सार्वजनिक तथा निजी गाडीहरु बन्द हुनेछन् भने बजार, कलकारखानालगायत आमरूपमा सबै जनजीवन ठप्प हुनेछ । कोभिडको दोस्रो भेरियन्टका जोखिम नियन्त्रणबाहिर जान लागेपछि निषेधाज्ञाको निर्णय भएको हो ।

लकडाउन गर्नुपूर्व सरकारले नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ। कोरोना सक्रमित तिब्र गतिमा बढे सङ्गै २२ गते सम्मकोआगि लकडाउन गर्न नागरिकलाई घर जान २ दिनको समय दिएको अधिकारीले बताए ।

कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दापनि संक्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्ण रुपमा बन्द गराउन निषेधाज्ञा जारी गर्ने निर्णय भएको पनि बताए। लकडाउन गर्नुभन्दा अगाडि सतर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भएपनि मापदण्ड पूर्ण रुपमा पालना नहुँदा संक्रमणको स्थिति गम्भीर बनेको ठहर प्रशासनको छ। त्यसैले थप भयावह स्थिति आउन नदिनको लागि निषेधाज्ञा आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।