Fursad Times बुधबार, आषाढ ०३, २०७७

बीबीसी । सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औषधि कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्न सफल भएको यूकेका विज्ञहरूले बताएका छन्।

कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा उल्लेख्य उपलब्धी मानिएको छ। यसले भेन्टीलेटरमा राखिएका बिरामी आठमा एक जना र अक्सिजन दिइएका २५ मा एक जनाको जीवन जोगाउने देखिएको छ। कोरोनाभाइरसको जारी उपचार विधिबारे विश्वभरि गरिएका ठूला परीक्षणहरूको यो औषधि पनि एउटा हिस्सा रहेको थियो।अनुसन्धानकर्ताहरूले यदी उक्त औषधि सुरू देखि युकेमा पाइएको भए ५ हजार जीवन जोगिने थियो भनी उल्लेख गरेका छन्।

यो औषधिको मूल्य पनि सस्तो रहेको र यसले उच्च सङ्ख्यामा कोभिड(१९ का बिरामीहरू देखिएका गरिब देशहरूलाई ठूलो राहत दिनसक्ने ठानिएको छ।

डेक्सामेथासोनलाई सन् १९६० देखि नै दम देखि रूमटोइड आर्थ्राइटिसको उपचारका लागि प्रयोग गर्ने गरिएको छ। कोभिड(१९ को सङ्क्रमण देखापरेपछि भेन्टिलेटरमा राख्नुपरेका आधा बिरामीहरूको ज्यान गइरहेको वर्तमान सन्दर्भमा उक्त जोखिमलाई एक तिहाइले घटाउनुलाई ठूलो उपलब्धी मानिएको छ।
अहिलेसम्म यो बाहेक इबोला भाइरस नियन्त्रणका लागि बिरामीहरूलाई दिइएको रेम्डेसिभिर नामक औषधिले कोभिड(१९ का बिरामीहरूलाई फाइदा पुर्‍याउने देखिएको छ । त्यसले कोभिड(१९ को लक्षण रहने अवधिलाई १५ दिनबाट घटाएर ११ मा झार्ने देखिन्छ तर त्यसबाट मृत्युदर घटेको या नघटेको बलियो प्रमाण भने देखिएको थिएन। त्यसमाथि डेक्सामेथासोनको विपरीत रेम्डेसिभिर नयाँ औषधि हो र यसको आपूर्ति सीमित अनि मूल्य पनि तोकिन बाँकी थियो।