रुकुमपश्चिम । चौरजहारी नगरपालिका–८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध आज अभियोग दर्ता भएको छ । पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग दर्ता गराएको हो ।
पक्राउ परेका २८ र फरार पाँच जनासहित गरी ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा अभियोग दर्ता भएको हो । त्यस्तै पक्राउ परेका जाजरकोटका एक जनाविरुद्ध मतियार कसुरमा अभियोग दर्ता भएको छ । पक्राउ परेका र फरार रहेका समेत गरी ३४ जनामध्ये ३३ जनालाई तीन र एक जनालाई तीन वटै कसुरमा मतियार रहेको अभियोग लागेको रुकुम अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए । उनका अनुसार ३३ जना विरुद्ध मुलुकी अपराध संहिताको दफा १७७ ९२० अनुसार जन्मकैद, दफा ४१ ९क० ९ग० बमोजिम आजीवन काराबास र जातीय भेदभाव तथा छुवाछुत कसूर र सजाय ऐन २०६८ को दफा ३ ९१० र दफा ४, ५ को कसूरमा दफा ७ ९१० क बमोजिम कैद सजायको माग गरिएको छ ।
प्रतिवादी इन्द्रबहादुर मल्लको हकमा भने अपराधसंहिताको दफा ३६ को कसूरमा दफा ३३ ९ख० बमोजिम सजायको माग दावी गरिएको छ । घटना भएको २३ दिनपछि आइतबार जिल्ला सरकारी वकिल कार्यालयले रुकुम जिल्ला अदालतमा अभियोग दर्ता गरेको हो । आज अभियोग दर्ता भएपछि अब सोमबारदेखि बयान शुरु हुने स्रेस्तेदार बोहराले बताउनुभयो । पक्राउ परेकामध्ये दुई बालबालिका छन् । उनीहरुको बयान सोमबारदेखि शुरु हुने र बाँकीको बयान मंगलबारदेखि शुरु हुने स्रेस्तेदार बोहराको भनाइ छ ।
घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले छुट्टाछुट्टै मितिमा सोती गाउँका २८ र जाजरकोटका एक गरी २९ जनालाई पक्राउ गरेको छ भने पाँच जना अझै फरार छन् । पीडितले दिएको किटानी जाहेरीका आधारमा २० र अनुसन्धानका क्रममा ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । फरार पाँच जनाको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । सोती घटनामा छ जनाको निधन भएको थियो ।