Fursad Times शनिबार, माघ १७, २०७७

बरहथवा-शुक्रबार मध्याह्नमा रहेको चक्र जनता सहिद गंगा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुले नगरपालिका कार्यालय तोडफोड गरेका हुन्। आफ्नो माग पूरा नहुदा उनिहरु आन्दोलित भएका हुन ।विद्यालयका प्रधानाध्यापक र विद्यार्थीबीच भएको विवादका कारण नगरपालिका कार्यालयमा तोडफोड भएको नगरपालिका कार्यलयले जनाएको छ। तोडफोडको क्रममा केही विद्यार्थीसमेत घाइते भएका छन्।

दिउँसो नाराबाजी गर्दै नगरपालिका कार्यालय परिसर पुगेका विद्यार्थीहरुले नगरपालिकाको दराज, गमला, होर्डिङ बोर्ड, झ्यालको सिसामा क्षति पुगेको छ। विद्यार्थीले गरेको ढुंगामुडाबाट नगरपालिकाका प्रशासन शाखा प्रमुख कमलप्रसाद पौडेलले चड्ने गरेको बा २० च ९३३७ नम्बरको कारको सिसा फुटेको छ।

विद्यार्थीको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए। तोडफोडको क्रममा घाइते एक विद्यार्थीको टाउको र अर्को एक जनाको खुट्टामा चोट लागेको कक्षा ११ का छात्र विवेक गुप्ताले बताए। प्रत्येक वर्ष विद्यालय र नगरपालिकाले शैक्षिक भ्रमणका लागि रकम छुट्याउने गरेको तर यस वर्ष रकम छैन भनेर प्रधानाध्यापकले बाहिरको मान्छे लगाएर आफूहरुलाई कुटाउने धम्की दिइरहेको विधार्थीहरुको आरोप छ।

विद्यार्थीहरुले लेखा शाखा र प्रधानध्यापकको कार्यकक्षमा तोडफोड गरेका छन्। तोडफोडबाट कागजात, दुईवटा कम्प्युटर, कुर्सीलगायतका अन्य सामान तोडफोड गरेका विद्यालयले जनाएको छ।

विद्यालयमा नियमित पठनपाठन नभएको, अतिरिक्त क्रियाकलापअन्तर्गत भ्रमण खर्च नदिएको र विद्यालयमा भौतिक संरचना व्यवस्थित नहँुदा पठनपाठनमा समस्या भएको भन्दै विद्यार्थीले विद्यालय प्रशासन र नगरपालिकामा समेत ज्ञापनपत्र बुझाएका थिए। पटक पटक ज्ञापनपत्र बुझाउँदा पनि माग सम्बोधन नभएको विद्यार्थीहरुको भनाइ छ। अहिले घटना स्थलको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। विद्यालयका प्रधानाध्यापक रामबहादुर राय यादवले विद्यार्थीको नाममा घुसपैठ भएको आरोप लगाएका छन्। विद्यार्थीको माग सम्बोधन गर्ने तयारी गर्दै गर्दा केही व्यक्तिले आफ्नो स्वार्थ पूरा गर्न विद्यार्थी परिचालन गरेका उनको भनाइ छ।

विद्यार्थीले भने आफूहरुले राखेको माग सम्बोधन गर्नु भन्दा पनि उल्टै प्रधानाध्यापक रायले मान्छे बोलाएर कुटाउने भन्दै धम्की दिने गरेको विद्यार्थीहरुको आरोप छ। शैक्षिक सत्र सुरु भएको यतिका समयसम्म पनि विद्यालयले पुस्तक उपलब्ध नगराएको, विद्यालयमा नियमित पठनपाठन समेत नहुने गरेको, विद्यालयमा शिक्षकले राजनीति गरेको विद्यार्थीहरुको आरोप छ। यता बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले शैक्षिक भ्रमणका लागि विद्यार्थीबाट आर्थिक सहयोगको माग नआएको बताए।