Fursad Times मंगलबार, पौष २१, २०७७

भक्तपुर । काठमाडौं लगायत उपत्यकामा वायु प्रदूषण बढेसँगै वातावरण विभागले बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई घरबाट बाहिर ननिस्कन आह्वान गरेको छ ।

सोमबारदेखि मौसम धुम्मिएसँगै काठमाडौं उपत्यका लगायतका क्षेत्रमा वायु प्रदूषण बढेकाले बालबालिका, वृद्धवृद्धा, दम–खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी र मुटुका बिरामी जोखिममा रहेकाले सकेसम्म घरबाट बाहिर ननिस्कन विभागले आग्रह गरेको हो ।     

विभागले मंगलबार दिउँसो विज्ञप्ति जारी गर्दै भनेको छ, “उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदुषण अत्यधिक बढेको पाइएको छ । यसबाट तपाईं हाम्रो स्वास्थ्यमा नकरात्मक असर पर्न सक्दछ । बिरामीहरू बढी प्रभावित हुने भएकाले उहाँहरूलाई सकेसम्म घर बाहिर ननिस्किन र सबै नागरिकले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन आग्रह गर्दछौं।”
सोमबार विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको थियो।