Fursad Times मंगलबार, पौष १४, २०७७

भक्तपुर – प्रधानमन्त्री नेकपा (प्रचण्ड–माधव) का नेतात्रयले वैशाखमा चुनाव नहुने भन्दै चुनाव हुने भ्रम नपाल्न चेतावनी दिएका छन्। मंगलबार संसद् विघटनविरुद्ध राजधानी काँठमाडौंमा आयोजना गरिएको विरोधसभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले करिब दुई तिहाई बहुमत रहेको संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले वैशखमा चुनाव गराउँछन् भन्ने विश्वास गर्न नसकिने बताएका छन्।

विरोधसभामा तीनै जना नेताहरुले लामो समय प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचनामा खर्चिएका थिए। उनीहरुले प्रधानमन्त्री ओलीकै कारण देश भड्खालोमा फसकेको भन्दै ओलीले गरेको गल्ती सच्याउन दबाब दिने उद्देश्यले सडकमा आएको बताएका छन्।

विरोधसभामा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई चेतावनी दिँदै अर्को चरणको विरोधका कार्यक्रम सार्वजनिक गरिने बताए। उनले त्यसका लागि तयार रहनसमेत प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका छन्। उनले वैशाखमा चुनाव नहुने भन्दै वैशाखपछि ओली प्रधानमन्त्री पनि नरहने बताएका छन्।

यस्तै नेकपा (प्रचण्ड–माधव)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको विघटन आफूहरुलाई स्वीकार्य नहुने बताए। उनले संविधानको भावना विपरीत गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई अस्वीकार गरिने बताए।

संविधानको प्रावधानलाई कुल्चेर यसको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्नु कुनै पनि हिसाबले उचित नभएको उनले बताए। उनले भने, ‘संसद् विघटन संविधान, जनता, राजनीतिक दलको भावना, नेपाली जनताले गरेको क्रान्ति, परिवर्तनको आकाङ्क्षाअनुरुप तथा नेकपाको निर्णय अनुरुप छ त ?’ उनले यो कदम आफूहरुलाई स्वीकार्य नभएको बताए।

पटकपटक प्रतिनिधिसभा विघटन भएर मुलुक स्थिरतामा प्रवेश गर्न नसकेको भनेर संविधानमा स्पष्टसँग विघटन गर्न नसक्ने प्रावधान राखिएको स्मरण गर्दै उनले संसद्भित्र प्रधानमन्त्री निर्वाचित हुन नसक्ने अवस्थामा मात्र प्रतिनिधिसभा विघटन हुन सक्ने व्यवस्था गरिएको बताए। अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा पुगेको र त्यहाँबाट संविधानको मर्म र भावनानुसारको फैसला आउने विश्वास व्यक्त गरे।

प्रतिनिधिसभा विघटन भयो अब के हुन्छ भनेर कोही पनि चिन्तित हुनु नपर्ने उल्लेख गर्दै उनले सरकारको कदमविरुद्ध सडकमा उत्रिनाको विकल्प नभएको बताए। ‘हामी देशलाई सही बाटोमा, समाजवाद तथा समृद्धिको दिशामा, सामाजिक न्याय, समानताका आधारमा समाजको पुनःसंरचना गर्न चाहन्छौँ । त्यो काम गर्ने शक्ति नेकपाबाहेक कोही छैन’, उनले भने।

समाजवादलाई अगाडि बढाउनुपर्ने र गणतन्त्रलाई समृद्ध बनाउनुपर्ने बेलामा सरकारले प्रतिनिधिसभा विघटन गरेर संविधान, लोकतन्त्रको मूल्यमान्यता, जनाधिकार र जनचाहनाका विरुद्ध कदम चालेको आरोप उनले लगाए। प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत सबै राजनीतिक दल, बुद्धिजीवी सडकमा उत्रेको उल्लेख गर्दै उहाँले प्रतिनिधिसभाको पुनःबहाली गरेर देशलाई सही दिशामा लैजान सबै शक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे।

विरोध सभामा वरिष्ठ नेता झलनाथ खनालले जननिर्वाचित संस्था विघटन गरेर सरकारले मुलुकमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाए। विरोध सभालाई सम्बोधन गर्दै संसद् विघटनसँगै अस्थिरताको अर्को शृङ्खला शुरु भएको बताए। ‘मुलुकको समृद्धिको बाधक बनेको अस्थिरताको प्वाललाई टाल्नुपर्ने आवश्यकता छ’, पूर्वप्रधानमन्त्री खनालले भने, ‘त्यसका लागि संसद् पुनःस्थापना अनिवार्य शर्त बनेको छ। जबसम्म संसद् पुनःस्थापना हुँदैन, त्यसबेलासम्म आन्दोलनमा रोकिँदैन।’

जनताका भावना विपरीतका कदम सच्याउन राष्ट्रव्यापीरुपमा आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले संविधानको सफल कार्यान्वयनमा सबै राजनीतिक दलको सहयोगको खाँचो औँल्याए। गरीबी र अशिक्षा उन्मूलन गर्नुपर्नेमा सरकार त्यसतर्फ नलागेको उनले आरोप लगाए। पार्टीभित्र आलोचना गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले नसुनेको र बैठक बहिष्कार गर्दै गई पार्टीमा समस्या देखापरेको उनले बताए।

पार्टी एकतालाई पूर्णता दिने क्रममा अध्यक्ष ओली बाधक बनेको उनको भनाइ थियो। पार्टी एकीकरणको बाँकी कामलाई सम्पन्न गरेर मुलुकलाई समृद्ध बनाउन सबै लाग्नुपर्नेमा उनले जोड दिए। कुनै पनि प्रधानमन्त्रीले मनखुशी प्रतिनिधिसभा विघटन गर्न विशेषाधिकार संविधानबाट हटाइसकिएको उनले प्रष्ट पारे। डिसी नेपाल