Fursad Times आइतबार, जेठ ३२, २०७७

.काठमाडौं। वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.राजेश आचार्यको जेठ २९ गते माल्दिभ्समा निधन भएको छ। विगत २ वर्षयता मालिदिभ्सको जि ए एन रिजनल हस्पिटलमा सेवारत ४६ वर्षीय आचार्य विगत ९ महिनायता घाँटीको क्यान्सरबाट पीडित थिए।

रुसको सेन्ट पिट्सवर्ग यूनिभर्सिटिबाट एम.वि.वि.एस र चीनको चङचाउ यूनिभर्सिटिबाट एम.डि. उपाधी हासिल गरेका डा. आचार्यले यस अघि वीर अस्पताल, जनमैत्री अस्पताल वालाजु, शंखरापुर अस्पताल जोरपाटी मोफसलका नेपालगन्ज मेडिकल कलेज, डोटी अस्पताल , लगायतका स्थानहरुमा सेवा गरेका थिए।

मानव सेवा नै माधव सेवा हो भन्ने भगवान श्री सत्य साई बाबाको दिव्य सन्देशबाट अभिप्रेरित स्व. आचार्य मनसा, वाचा, कर्मणा निस्वार्थ भावले समाजसेवामा समर्पित चिकित्सक थिए। सशस्त्र द्वन्द्वकालको कठिन अवधिमा डोटी, दार्चुला, वैतडी, कालीकोट, बझाङलगायतका दुर्गम ग्रामीण क्षेत्रमा द्वन्द्व पीडितको उपचारमा खटेका आचार्य महाभूकम्प २०७२ मा सिन्धुपाल्चोकको चौतारा तथा आसपास र काठमाडौको साँखुलगायतका स्थानहरुमा पीडितहरुको उपचारमा सक्रिय रहेका थिए।

धर्मपत्नी वरिष्ठ स्त्रीरोग विशेषज्ञ सविना आचार्यसँगको सहकार्यमा विभिन्न दुर्गम स्थानमा आङ खस्ने महिलाको निःशुल्क औषधोपचारमा संलग्न रहेका स्वर्गीय आचार्यका श्रीमती (डा. सविना आचार्य ) र २ सुपुत्रीहरु (सेलिना आचार्य र रिवा आचार्य ) रहेका छन्। स्व आचार्यको शव असार १ गते काठमाडौ ल्याई वैदिक परम्परा अनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।