नबिन पन्त आइतबार, चैत्र १६, २०८१

भक्तपुर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणासहित ११ जनालाई राज्य विरूद्धको कसुरमा म्याद थप गरिने भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले मिश्र र राणासहित ११ जनालाई राज्यविरूद्धको कसुर तथा संगठित अपराधमा अनुसन्धान गर्न लागेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा १० दिनेको म्याद माग गरेको छ । पक्राउ परेका बाँकी ३० जनाविरूद्ध पनि छुट्टै मुद्दामा अनुसन्धान गर्ने तयारी भै रहेको छ। चैत १५ गते तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईंको नेतृत्वमा प्रदर्शनपछि तोडफोड, आगजनी, लुटपाट भएको थियो। प्रसाईंको प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले समर्थन गरेको थियो भने राप्रपा र राप्रपा नेपालले पनि समर्थन जनाएको थियो। राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र सुवेदी नेतृत्वको समितिको सदस्य सचिव र महामन्त्री राणा आन्दोलन परिचालन समितिमा थिए। प्रसाईंलाई भने ुजनकमान्डरु तोकिएको थियो। प्रदर्शनमा मिश्र र राणा सहभागी रहेको र उनीहरूले प्रदर्शनकारीलाई भड्काएको आरोप छ। शुक्रबारको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार छन्। आइतबार उनले फेसबुकमा भिडिओ राख्दै आफू काठमाडौंकै कुनै मन्दिरमा बसेको उल्लेख गरेका थिए। उनीहरूमाथि प्रहरीले संगठित अपराधमा पनि अनुसन्धान गर्ने भएसँगै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने भएको छ।