नविन पन्त बुधबार, माघ ०२, २०८१

भक्तपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पुनः अदालत लगिँदैछ। लामिछानेको तर्फबाट थुनछेक बहस सकिएपनि जाहेरीवालाको तर्फबाट भइरहेको थुनछेक बहस नसकिएपछि उनी गत आइतबारदेखि काठमाडौं प्रहरीको हिरासतमा छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको एकल इजलासमा उनको थुनछेक बहस भइरहेको र बहस नसकिएको भन्दै आइतबार र सोमबार उनलाई हिरासतमा राख्न आदेश दिएका हुन्। मंगलबार सार्बजनिक बिदा भएकाले बहस हुन नसकेपछि उनलाई बुधवार मात्रै अदालत उपस्थित गराइने भएको हो। थुनछेक बहस सम्भवतः आजै सकिने भएकाले उनी पुर्पक्षका लागि थुनामा रहने कि बाहिर बसेर कानुनी लडाइँ लड्ने भन्ने आज आदेश आउन सक्ने जनाइएको छ। पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार ६५ लाख धरौटी बुझाएर पोखराबाट छुटेका थिए। लामिछाने त्यहाँबाट छुटेपनि शुक्रबार जिल्ला अदालत, काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी शुक्रबार हाजिर हुन भने सकेका थिएनन् तर, आइतबारदेखि अदालतमा हाजिर भएका लामिछाने काठमाडौंमा बिगत तीन दिन देखी हिरासतमा रहँदै आएका छन्। कालिमाटी स्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि सरकारी वकिल कार्याले उनीबिरूद्ध मुद्दा दर्ता गरेको हो। उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहित माथि लागेको छ।