नविन पन्त सोमबार, पौष २९, २०८१

भक्तपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पुनः काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि लामिछानेलाई आइतबार प्रहरी हिरासतमा राखिएको थियो। अधिकारीको इजलासमा भएको उनको बयान सकिएता पनि थुनछेक बहस सुरू नभएपछि सोमबार अदालतमा उपस्थित गराउने सर्तमा हिरासतमा राख्ने आदेश दिइएको थियो। आइतबार अदालत खुल्नु अगावै नै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेले सुरूमा नै बयान दिएका थिए। काठमाडौं जिल्ला अदालतले कास्की जिल्ला अदालत झैं धरौटी मागेमा उनी छुटने छन् भने नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको थियो तर थुनछेक बहस नसकिएकाले उनी हिरासतमा बस्न बाध्य भएका हुन्। उनले आफुलाई परिवारको जिम्मा लगाउन माग गरे पनि अदालतले हिरासतमा राख्ने आदेश दिए लगतै अदालत उनका समर्थकहरूले बाहिर नाराबाजी गरिरहेका थिए। उनले प्रहरी हिरासतमा जानु अघि सबैलाई ‘स्यालुट’ गरेका थिए। सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर पोखराबाट छुटेका थिए। हाल कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो।