नविन पन्त शुक्रबार, आश्विन ११, २०८१

देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सो प्रणालीको प्रभावका कारण शुक्रबार बिहान देखि देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै शनिबार दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने महाशाखाको पूर्वानुमान छ। शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा हुने अनुमान समेत गरिएको छ। राति बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । तराई भू-भागका केही स्थानहरूमा राति पनि हावा हुरीको समेत सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने जोखिम तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जन-जीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।