नविन पन्त मंगलबार, भाद्र १८, २०८१

भक्तपुर –  नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छिन्। कप्तान अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४ – ०२५ को लागि सम्झौता गरेको हो । सम्झौता रकम भने गोप्य राखिएको छ। अञ्जिलाले युरोपियन क्लबबाट खेल्न पाउँदा खुसी लागेको बताएकी छिन्। ‘पहिलो पटक युरोपियन लिग खेल्न पाउँदा खुसी छु ’ अञ्जिलाले भनिन्, ‘हरेक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । दुई वर्षदेख लगातार प्रयासमा थिए। अहिले त्यो पूरा हुने भएको छ। लिग खेल्ने उत्साहित छु।’ विभागीय टोली एपिएफ क्लबमा आबद्ध अञ्जिला युरोपको लिग खेल्ने स्ट्राइकर सावित्रा भण्डारी पछि दोस्रो खेलाडी बनेकी छिन्। इजारयली लिगको अनुभव लिइसकेकी सावित्रा हाल फ्रेन्च लिगमा आबद्ध छिन् ।
यसअघि अञ्जिलाले भारतीय र पाकिस्तानी लिग खेलेकी थिइन् । उनले भारत सेथु एफसीमा दुई र पाकिस्तानको मासा युनाइटेमा एक सिजन बताइन् । अञ्जिला दुवै टोलीको कप्तान समेत थिइन् ।