नबिन पन्त शुक्रबार, साउन ३२, २०८१

भक्तपुर । बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने एक युवकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।
दोलखाको मेलुङ गाउँपालिका- ४ घर भएका करिब ३० वर्षीय शम्भु नेपालीलाई गएराति प्रहरीले पक्राउ गरि उनीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ । उनी अहिले ठिमी प्रहरीको नियन्त्रणमा छन् ।  उनले यसअघि पनि पटक-पटक आफ्नी बहिनीको मृत्यु भएको भनेर गलत हल्ला फैलाउने गरेको पाइएको प्रहरीले जनाएको छ । उनले मृतकलाई किन आफ्नी बहिनी भने भन्ने कुरा अहिले सम्म नखुलेको प्रहरीको भनाइ छ । बिहीबार दिउँसो घटनास्थलमै पुगेर उनले मृतक महिला आफ्नी बहिनी हुन् भन्ने दाबी गरेपछि उनी घटनास्थलबाट हिँडेका थिए । मृतक महिला नभएर पुरुष भएको पुष्टि साँझ मात्रै भएको थियो । बिहीबार दिउँसो गट्ठाघरमा बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो । सुरुमा प्रहरीले मृतकलाई महिला भन्दै घटना विवरण सार्वजनिक गरेको भएता पनि पछि अनुसन्धानको क्रममा मृतक महिला नभएर पुरुष भएको खुलेको थियो । घटनामा परी ओखलढुंगाका ६५ वर्षिय उत्तम कोइरालाको निधन भएको पुष्टि भएको छ ।