नबिन पन्त बिहिबार, साउन २४, २०८१

भक्तपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनय रहेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै निर्माण पक्षले सार्वजनिक गरेको २ मिनेट २४ सेकेण्ड लम्बाईको ट्रेलरमा एसिड आक्रमणका पीडितको पीडा र संघर्षलाई मर्मस्पर्शी रुपमा देखाइएको छ । नेपालमा एसिड बिक्री-वितरण गर्न प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि फिल्मले सशक्त रुपमा उठाएको छ ।

सार्वजनिक गरिएको ट्रेलरमा प्रधानमन्त्री ओलीले एसिड पीडितहरूलाई न्याय दिने प्रतिबद्धता जनाएको दृश्य समावेश छ । त्यस्तै, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले एसिड पीडितको आन्दोलनमा एक्यबद्धता जनाउँदै ‘एसिड आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउँछौं’ भन्दै संवाद बोलेका छन् । अभिनेता रमित ढुंगानाको निर्माण र निर्देशनमा बनेको फिल्म‘नमेटिने घाउ’मा एसिड आक्रमणमा परेका विभिन्न ३३ जना पीडितहरूको कथा समाबेश गरिएको छ । यसमा मुस्कान खातुन, रचना गौतम,प्रभात पल ठकुरी, आरती आचार्य, सुरवीर पण्डित, सुनिल कटुवाल, अपेक्षा न्यौपाने, क्रान्ति शाह,प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, आरजु लेखक, एलिसा गुरुङ आदिको अभिनय रहेको छ ।

फिल्ममा शिवम् अधिकारीको लेखन छ। रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको ‘नमेटिने घाउ’मा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन, ओम सुनारको संगीत तथा किरण दहालको द्वन्द्व निर्देशन छ । यो फिल्म कृष्ण जन्माष्टमीको अवसर पारेर आगामी भदौ ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।