नविन पन्त सोमबार, आषाढ ३२, २०८१

भक्तपुर- काठमाडौं महानगरपालिकाले न्यूरोडमा सुरू गरेको फुटपाथ विस्तारको कामलाई निरन्तरता दिन पाउने भएको छ। महानगरले समन्वय नगरी फुटपाथ विस्तार गरेको भन्दै डिभिजन सडक कार्यालय, काठमाडौंले महानगरकोउक्त काममा हस्तक्षेप गरेपछि काम रोकिएको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले आइतबार महानगरको माग बमोजिम अन्तरिम आदेश दिएपछि फुटपाथ विस्तारको काम फेरि सुरू हुने भएको हो। न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्न पाउने आदेश अदालतले दिएको महानगरका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले जानकारी दिएका हुन।

न्यूरोड क्षेत्रलाई पैदलमैत्री बनाउने भनेर महानगरले गत जेठ ११ गतेदेखि काम थालेको थियो। डिभिजन सडक कार्यालय, काठमाडौंले काम रोक्न जेठ १३ र १६ गते गरी दुईवटा पत्र पठाएको थियो। यसरी आफुहरुले गरि रहेको फुटपाथ विस्तारको काममा डिभिजनले बाधा पु¥याउदै पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। रिट निवेदनमा महानगरले आफ्नो क्षेत्रभित्रको वडा नम्बर २२, २३ र २४ अन्तर्गत पर्ने न्यूरोड बजार क्षेत्रमा आर्थिक वर्ष २०८० ८१ को बजेटबाट फुटपाथ विस्तार गर्ने योजना अनुरूपको कार्य सञ्चालन गर्न पाउनुपर्ने अन्तरिम आदेश माग गरेको थियो। सो मागको पक्षमा उच्च अदालत पाटनले फैसाला गरे पछि महानगरलाई फुटपाथ विस्तारको कामलाई निरन्तरता दिन बाटो खुला भएको छ । अदालतको अन्तरिम आदेशअनुसार राष्ट्रिय यातायात नीति २०५८ ले सहरी सडकलाई परिभाषित गर्दै यसको निर्माण, मर्मतसम्भारको जिम्मेवारी स्थानीय तहको हुने भनेर उल्लेख गरेको छ।