नविन पन्त शुक्रबार, आषाढ २९, २०८१

भक्तपुर। पहिरोले त्रिशुली नदीमा खसेका दुईवटा बस अहिलेसम्म पनि फेला पर्न सकेका छैनन्। सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोलीले आज दिनभर खोजी कार्य गरेपनि दबै बस फेला पर्न सकेको छैन। आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुबाहक बस त्रिशुली नदीमा खसेका थिए। त्रिशुलीमा खसेका बसमा विरगंजबाट काठमाडौं आउँदै गरेको विङर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ। काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्समा २७ जना र विरगंजबाट आएको बसमा २४ जना यात्रु सवार रहेको गृहमन्त्री रवि लामिछानेले संसदमा जानकारी गराएका थिए। उक्त स्थानमा सशस्त्र प्रहरी बलका २८ गोताखोरसहित पाँच सय सुरक्षाकर्मी परिचालन भएका थिए। अहिलेसम्म यात्रुको अवस्था अज्ञात रहेको र आजका लागि खोजि कार्य स्थगित भएको प्रहरीले जानकारी दिएको छ।