नविन पन्त शनिबार, जेठ १२, २०८१

भक्तपुर – नागरिकता सम्बन्धी कसुरमा गत मंगलबार पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्। सिरोहियालाई शुक्रबार अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी भूवनेश्वर तिवारीले जानकारी दिएका छन । उनको स्वास्थ्यमा समस्या देखिएपछि जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको उनले बताए । काब्या अस्पतालका अनुसार सिरोहियालाई राति १० बजे पुर्‍याइएको थियो। मुटुमा समस्या भएर ल्याइएको रहेछ। हिजो नै विभिन्न परीक्षणहरू भए। आज पनि केही परीक्षणहरु गरिएको छ। रिपोर्ट आउन बाँकी छ,’ अस्पतालका एक डाक्टरले भने। एसपी तिवारीका अनुसार सिरोहियालाई पहिले प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। ‘त्यहाँ उहाँको उपचारका लागि आवश्यक सुविधाहरू नभएका कारण नजिकै रहेको काब्या अस्पताल लगिएको हो। त्यहाँ उपचार जारी छ,’ उनले भने।

मंगलबार कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ परेका सिरोहियालाई सोही दिन धनुषा पुर्‍याइएको थियो। बुधबार अदालतमा पेश गर्दा सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले पाएको अनुमतिको म्याद सकिए पछि उनलाईशुक्रबार पुन. अदालतमा पेश गरिएको थियो। उनीमाथि अनुसन्धानका लागि थप तीन दिन म्याद थपिएको छ।