नविन पन्त आइतबार, जेठ ०६, २०८१

भक्तपुर। अहिले देशमा पश्चिमी र स्थानीय दुई प्रकारका वायुहरुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका केही पहाडी भू–भागहरुमा आंशिक देखि साधारणतया बदली रहदाँ बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ।

विभागका अनुसार कोशी प्रदेशको केही स्थान र वागमती प्रदेशको पहाडी भूभागको केही भागमा हुरीबतास एवं चट्याङ, मेघगर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

कोशी र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विभागले आज बिहान छ बजे जारी गरेको मौसम बुलेटिनमा देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको उल्लेख छ।

त्यसैगरी, आज राति कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक देखि साधारणतया बदली रहदाँ बाँकी भागमा भने मौसम सफा रहने छ। विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिउँ पर्नसक्ने छ। विभागले देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम २० डिग्री सेल्सियस छ। आज यहाँको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने विभागको पूर्वानुमान छ।