नविन पन्त शुक्रबार, चैत्र ३०, २०८०

भक्तपुर । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको नेपालको पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो। १४४ रनको मध्यम लक्ष्य पाएको नेपालले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्‍यो।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३२ रन बनाए। यस्तै कुशल भुर्तेलले २४, कप्तान रोहित कुमार पौडेलले २८ रन बनाए। दिपेन्द्र सिंह ऐरीले ११ बलमा २ चौका र एक छक्काको मद्दतमा २० रन बनाउँदा गुल्शन झाले ७ बलमा २ छक्का र एक चौकाको मद्दतमा १९ रन बनाए। सन्दीप जोराले ९ बलमा १२ रन बनाए। मलेसियाका कप्तान भिरनदिप सिंहले ३ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४३ रन बनाएको थियो । मलेसियाका लागि कप्तान भिरनदिप सिंहले ५७ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ७२ रन बनाएर अविजित रहे। यस्तै शार्भिन मुनियान्डीले ४१ रन बनाए। नेपालका दिपेन्द्र सिंह ऐरीले २ तथा अभिनाश बोहोराले १ विकेट लिए।