भक्तपुर : एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता साझेदारीलाई गठबन्धन नभई समीकरणका रूपमा मात्र बुझ्न सबैमा आग्रह गरेका छन्। उनले बिहीबार मदन भण्डारी स्मृति प्रतिष्ठान तथा एमाले ताप्लेजुङको नवनिर्मित भवनको उद्घाटन गर्दै एमाले सरकारबाट बाहिरिएपछि राष्ट्रियता झन कमजोर भएको, राष्ट्रिय स्वाभिमानमा नराम्रो गरि आँच आउन थालेको र विकास, समृद्धि र सुशासनमा कुनै पनि सुधार हुन नसकेको समेत बताएका छन। यस्ता समस्या धेरै दिन कायम रहन हुन्न भन्ने मनसायले नै आफुहरुले गठबन्धन भत्काएर नयाँ समीकरण बनाएको उनले बताएका छन ।
उनले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउँदै राष्ट्रिय गौरव बढाउन एमाले बाहेक अर्को शक्तिबाट सम्भव नभएको देखेर नै एमालेले ‘मिसन २०८४’ ल्याइएको बताए। कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई पात झरेर थोत्रो भइसकेको रुखको संज्ञा दिए।
‘म कांग्रेसको पात नझरोस् र झरेको पातमा नयाँ मुना पलाओस् भन्छु, कांग्रेस मति बिगारिरहन्छ,’ उनले भने।
उनले आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनाबद्ध रूपमा अघि बढ्न समेत आफ्ना सम्पुर्ण कार्यकर्ताहरुलाई सुझाव समेत दिएका थिए।