नविन पन्त बुधबार, चैत्र २१, २०८०

भक्तपुर भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक टी–२० क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै एक खेल अवागै फाइनलमा प्रवेश गरेको छ। अगामी जुनमा हुने टी–२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपालले भारतको स्टेट टिम गुजरातलाई बुधबार आठ रनले पराजित गरेको छ। नेपालले शुक्रबार समूहको अन्तिम खेलमा बरोडासँग खेल्नेछ। नेपालले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको गुजरातले ७ विकेटको क्षतिमा एक सय ७३ रन मात्र बनाउन सक्यो। गुजरातका लागि कप्तान उमंग रोहितकुमारले ४७ रन जोड्दा हर्ष देसाईले नटआउट २९ रन बनाए। नेपालका लागि सोमपाल कामी, गुल्सन झा र कुशल मल्लले समान दुईःदुई विकेट लिए। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै एक सय ८१ रन बनाएको थियो। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे। कुशलले ६७ रन र आसिफले ८५ रन जोडे।