नविन पन्त आइतबार, चैत्र १८, २०८०

भक्तपुर नायक दयाहाङ राई र नायीका मिरुना मगर अभिनित फिल्म ‘घरज्वाइँ’को दुई लुक्स सार्वजनिक गरिको छ। आइतबार सार्वजनिक भएको पोस्टरको एउटा लुक्समा दयाले रिसाहा अवतारमा बन्दुक बोकेको देखाइएको छ । अर्कोमा भने उनी मिरुनाका साथ डोकोहरू बोकेर मिरुनाको पछिपछि हिँडिरहेको देखिन्छ। मिरुनाले एउटा डोको बोकेर अघिअघि हिँड्दा दयाहाङले ६ वटा डोको एक्लै बोकेर कतै हिँडेको देखिन्छ।उनीहरुको यो हाउभाउ देख्दा कतै डोकोको व्यापार गर्न हिँडेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ।

अनिल बुढा मगर निर्देशीत फिल्मको अधिकांश सुटिङ झन्डै एक महिना पूर्वी रुकुमका विभिन्न रमणीय स्थानहरूमा गरिएको थियो। फिल्मलाई निर्देशक अनिलले नै कथा, पटकथा, संवाद लेखेका हुन्। उनलाई लेखनमा विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका थिए। फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन ९खबपु०, राज थापा, कविता आले, शिला आले लगायतका कलाकारले अभिनय गरेका छन्। जिएम मुभिजको ब्यानरमा निर्मित फिल्म का गीतमा हर्क साउद र मनोज थापाको शब्द,संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ। आगामी असार १८ गते प्रदर्शनमा आउने यस फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन्। फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन्।