नविन पन्त सोमबार, चैत्र १२, २०८०

भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ। तीन वर्षमा सक्ने गरी सूर्यविनायक-साँगा र साँगा-धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको हो। सडक विस्तारका क्रममा बनेपा नगर र धुलिखेल नगरमा बिछ्याइएका खानेपानीका पाइप र ढल व्यवस्थापनमा कठिनाइ भएको छ। सूर्यविनायक-धुलिखेल-धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार यी दुई नगरमा सडकमुनि विभिन्न खानेपानी आयोजनाका पाइप र पुराना अव्यवस्थित ढलका पाइप बिछ्याइएकाले यसको व्यवस्थापनमा समस्या भएको छ।

सूर्यविनायक(धुलिखेल कूल १५.५ किलोमिटर लामो सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेलसम्म ८.४ किमी सडकखण्ड विस्तार कार्यका एक वर्षअघि सुरु गरिएको थियो । आयोजना अन्तर्गत सूर्यविनायक-साँगा सडकखण्ड भने ७.५ किमी रहेको छ। विशेष गरी बनेपाको पुल बजारदेखि बुडोलस्थित चण्डेश्वरी खोलासम्मको ३.२ किलोमिटर सडक दायँबायाँ पुरिएका खानेपानी र ढल व्यवस्थापनमा चुनौती देखिएको इन्जिनियर खनालले बताए। धुलिखेल नगरमा १ किलोमिटर ढलको व्यवस्थापनमा बढी समस्या देखिएको छ। खानेपानी र ढलको व्यवस्थापन गर्नुपर्ने देखिएपछि धुलिखेल, बनेपा नगर तथा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई अनुरोध गरी हाल धुलिखेल नगर क्षेत्रभित्रका खानेपानी र ढल व्यवस्थापनको काम गरिरहेको इन्जिनियर खनालले बताए।

धुलिखेलमा खानेपानीको व्यवस्थापनमा एक करोड तथा ढल व्यवस्थापनमा चार करोड खर्च हुने अनुमान गरिएको छ। सडक मापदण्डमा परेका खानेपानीका पाइप तथा घर स्थानान्तरण र भत्काउन सरोकारवालासँग विभिन्न चरणमा छलफल भएको छ। उक्त राजमार्ग निर्माणको २५ वर्षपछि चार लेनमा विस्तार थालिएको हो। आयोजनाको सुरुआतबाट सूर्यविनायकदेखि धुलिखेल सम्म नै सडक छेउमा पर्खाल निर्माणको काम भइरहेको छ भने विभिन्न स्थानमा हाल कल्भर्ट निर्माणको काम थालिएको छ।

इसरी सडकको विस्तार गर्ने कायृ यर्दा भैँसेपाटीमा पुरातात्विक वस्तु फेला परेपछि पुरातत्व विभागको निर्देशनअनुसार केही भागको काम रोकिएको छ। पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडकखण्ड विस्तार कार्यका लागि ४ अर्ब ५ करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक(साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाखको सम्झौता भएको इन्जिनियर खनालले बताए।