नविन पन्त मंगलबार, कार्तिक १४, २०८०

भक्तपुर– स्याङ्जाको चापाकोटमा ५५ वर्षीय देवबहादुर विकले श्रीमतीको हत्या पछि आफूले पनि आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका–७ खासा बस्ने विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहार गरेर हत्या गरेको र त्यसपछि आफुले रुखमा झुन्डिएर आत्महत्या गरेका छन् । विकले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यस पछि लगत्तै आफू पनि घर नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको चापाकोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए । यसअघि पनि बेलाबखत श्रीमतीलाई कुट्ने र झैझगडा हुने गरेको जानकारी पाइएको र सोमबार साँझ खाना खाएपछि राति कुन समयमा उक्त घटना भयो भन्नेबारे यकिन नभएको प्रहरी निरिक्षक यादवले बताए । कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेपछि दुवै शवलाई पोस्टमार्टमका लागि चापाकोट अस्पताल ल्याएको र घटनाबारे थप अनुसन्धान सुरु भएको निरीक्षक यादवले जानकारी दिए ।