नविन पन्त शनिबार, भाद्र ०९, २०८०

भक्तपुर – गायिका निलिमा पुनले तीजको अवसर पारेर नयाँ प्रगतिशिल गीत सार्वजनिक गरेकी छिन् । अघिल्लो वर्षको तीजमा ‘सबै चेली’ नामक गीतको भिडियो सार्वजनिक गरेकी पुनले त्यसैको निरन्तरतामा यस पटक ‘सबै चेली–२’ नामक गीति भिडियो सार्वजनिक गरेकी हुन् । गायिका पुनकै शब्द तथा संगीत रहेको गीतमा नेपाली चेलीहरुले अंगाल्ने विभिन्न पेशागत जिम्मेवारीहरुको विविधता समेटिएको छ । उनले पेशागत विविधतामा रहेका चेलीहरु तीजमा माइतीमा आएको र आमाले कसको दैनिकी कसरी बित्दैछ त भनेर गर्ने सहज प्रश्नको उत्तर दिने क्रममा चेलीहरुले आफ्नो पेशामा गरेको अनुभव सुनाउने शैलीलाई टिपेर शब्दमा उनेकी छिन् ।

उक्त गीतमा गाउँघरको विद्यालयमा पढाउने शिक्षिकादेखि हवाइजहाज उडाउने पाइलटसम्मको भूमिकामा रहेका चेलीहरु जम्मा भएको देखाइएको छ । गीतको शब्दले बोले झैं डाक्टर, सुरक्षाकर्मी प्रहरी, मजदुर लगायतका पेशागत जिम्मेवारी बोकेका चेलीहरुको भूमिका समेटिएको छ । निलिमालाई स्वरमा हरिमाया पुन, रुपा पुन, माया पुन, सुकमाया बुढाथोकी र बिमा पुनले साथ दिएका छन् ।

सरल गीतको भिडियो पनि सरल तरिकाले नै निर्माण गरिएको छ । जनगायक जीवन शर्माको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोमा नबीना के।सी।को केरियोग्राफी रहेको छ भने समिर राईको छायाँकन र तुलसी बाँस्कोटाको सम्पादन छ ।

डमर भण्डारीले निर्देशन गरेको भिडियोमा पञ्चकली पुनले आमाको भूमिका निभाएकी छिन् । अनु शर्मा, आकृति भण्डारी, मनिषा बुढाथोकी, बेलीमाया पुन, तुलसा पराजुली, कुसुम श्रीष, श्रृष्टि बस्याल, गरीमा पाण्डे, मञ्जु खड्का, बुद्धलक्ष्मी मुनिकार, एलिसा मगर, समिता बुढाथोकी र भावना बस्यालको मौलिकता झल्कने नृत्य र अभिनयले भिडियोलाई आकर्षक बनाएको छ । भिडियोमा समेटिएका तीन पुस्ताको संयोगले यसलाई अझ जीवन्त बनाएको छ ।

बाँकी भिडियोमा हेर्न यो लिंकमा क्लिक गर्नुहोस्