नवीन पन्त बुधबार, भाद्र ०६, २०८०

भक्तपुर । कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्ण नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका छन् । केही दिन अघि एक अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु डा.कर्णले निःसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको छ । उनले भोजपुर हतुवागढीका अविवाहित गोविन्द राई र उनकी प्रेमिकाको सम्बन्धबाट गत असार १४ गते ग्रिनक्रस अस्पतालमा जन्मिएकी शिशुलाई मोरङका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएपछी पक्राउ परेका हुन् ।

कर्णसँग उक्त शिशु खरिद गर्ने दम्पती पनि पक्राउ परेका छन् । डा. कर्णलाई गत शुक्रबार प्रहरीले नियन्त्रण लिने प्रयास गर्दा बिरामीको बहानामा कोशी अस्पतालमा भर्ना भएका थिए भने उनिलाई हिजो डिस्चार्ज हुने बितिकै हिरासतमा लिइएको हो ।
कोशी अस्पतालमा झण्डै अढाई दशक स्त्री रोग विभागमा काम गरेर सेवा निवृत्त भएका कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ गतेसम्म यो अस्पतालको मेडिकल सुपरिन्टेण्डेन्ट थिए । उनी लामो समयदेखि अवैध सम्बन्धबाट जन्मिएका शिशु निःसन्तान दम्पतीलाई बिक्री गर्ने कार्यमा संलग्न हुँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
डा. कार्णले यसअघि गत असारमा अविवाहित ऋषिदेव थरकी युवतीले जन्माएको शिशु पनि काठमाडौंका अग्रवाल थरका एक निःसन्तान दम्पतीलाई बिक्री गरेको अनुसन्धानबाट खुलेको छ । उनले अवैध सम्बन्धबाट जन्मिएका दर्जन भन्दा बढी शिशुलाई मोटो रकममा बिक्री गरेको पुष्टी भएको छ ।