Fursad Times आइतबार, मंसिर ०४, २०७९

भक्तपुर । देशभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आज मतदानको दिन हो । मतदानको दिन सवारी साधन सञ्चालनमा गृह मन्त्रालयले रोक लागेको छ । जसले गर्दा निकै व्यस्त रहने देशको राजधानी काठमाडौंका सबै स्थानका सडकहरु यतिबेला भने सुनसान देखिएका छन् । गृह मन्त्रालयले आज बिहान सात बजेदेखि बेलुका मतदान नसकिँदासम्म पासविनाका सवारी साधन चलाउनमा रोक लगाएको छ । यो बीचमा पासविनाका सवारी चलाएको खण्डमा दिनभर होल्ड गरेर राखिनेछ ।

आपत्कालीन प्रयोजनमा प्रयोग हुने एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दुध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीले प्रयोग गर्ने गाडीहरुलाई भने कुनै पनि पास चाहिदैन । त्यस्तै अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमतिपत्र लिनु पर्दैन ।

यी बाहेकका अन्य अत्यावश्यक सेवाका सवारीसाधनका लागि सवारी पासको व्यवस्था गरिएको छ । नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मी र उनीहरूले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक पर्दैन । तर, प्रेस पास नभएका सञ्चारकर्मीले भने जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहानैदेखि पास विनाका सवारी साधन होल्ड गरेर राखिएको छ । मुख्य सडकमा ट्राफिक प्रहरी, जनपद प्रहरी र म्यादी प्रहरीले सवारी चेकजाँच गरिरहेका छन् । पासविना चलाइएका सवारीलाई त्यही होल्ड गरेर राखिएको छ ।